जन्म ः परमानन्द देवकोटाका ७ भाई छोरा मध्येका जगन्नाथ गोरखा फुजेलका दुवाडिकि छोरी जगुमायासँग विवाह गरि लिगलिगे छाडे । सरकारी कामको सिलसिलामा महोत्तरी जिल्लाको जलेश्वरमा सपत्नी पुगेर त्यहि उनिहरुको पहिलो र एक मात्र सन्तान लिलाधरको वि.सं . १९६४ मा जन्म भयो ।उनै लिलाधर देवकोटा र माया देवी देवकोटाको ६ छोरी र ५ छोरा जन्मिए । ११ जना मध्ये आठौँ र दाजुभाइ मध्येका कान्छा छोरा २०११ साल जेठ १६ गते शनिवारका दिन चूडामणि देवकोटाको जन्म गोरखा जिल्लाको फुजेलमा भयो ।
शिक्षा ः अक्षरारम्भ घरमै भए पनि ७ बर्षको उमेरमा व्रतवन्ध पश्चात बक्राङ पुराना गाउँस्थित पण्डित गणेश अर्याल (जो दृष्टि–विहिन हुनुहुन्थ्यो) को गुरुकुलमा आफ्ना दाजुहरुका साथ लघुकौमुदी र व्याकरणको अध्ययनमा १ वर्ष बिताएछि पुनःजन्म थलो फुजेल मै फर्किएर गुरु राजेन्द्र भण्डारीको व्यक्तिगत प्रयासबाट संचालित चौतारामा पढाई हुने (भवन विहिन) स्कुलमा अंग्रेजीका कोरा अक्षर खारेर २०२० चैत्रमा आधुनिक शिक्षाको प्रारम्भ काठमाडौंका े लैनचौर स्थित शान्ति विद्यागृह स्कूलमा कक्षा ६ मा भर्ना भै सुरु भयो । कक्षा ६ बाट सुरु भएको औपचारिक शिक्षा त्रि.वि .बाट डिग्री र बेलायतको लिभरपुल विश्वविधालयबाट सन् १९८६ मा एम.पि.ए. गरे पछी पूर्णविराम लाग्यो ।
बाल्यकाल ः गोरखा , काठमाडौं र चितवनको रत्ननगरमा आंशिक रुपमा बित्यो भने जीवनयापनको कार्यक्षेत्र काठमाडौं बन्यो ।
नोकरि ः २०३० सालमा नेपाल राष्ट्र बैकबाट जागिर खाने अभ्यास गर्दै ४ वर्ष राष्ट्रिय वाणिज्य बैंकको अधिकृत र पेशा बदलेर २०३७ जेठमा नेपाल सरकारको शाखा अधिकृत पदमा प्रवेश गरि २०६९ जेष्ठमा जागिर मैजारो गरि सेवा निवृत हुनु भयो ।
लेखन ः आई.ए. प्रथम वर्ष वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा पढ्न पुग्दा कलेजको छैटौ बार्षिकोत्सवको उपलक्ष्यममा आयोजित प्रतियोगितामा कवितामा दोश्रो भै प्रमाण पत्र पाएपछि लेखनमा रुची बढ्न थाल्यो । २०२७ सालमा प्रकाशित ‘दियो’ नै प्रथम मुद्रित कविता थियो । लेखनमा पैला देखि कलम चल्दै आए पनि गीतको रेकर्ड भने २०५६ सालमा मात्रै हुन सक्यो । ‘आकाश रोए पानी पर्छ’ रामकृष्ण ढकालकोआवाजमा उहाँको पहिलो गीत रेकर्ड हो । हाल सम्म १०० जति गीत रेकर्ड भएका छन् । राष्ट्रिय भावका गीत लेखनमा विशेष चाख राख्ने उहाँका ७ वटा एकल एल्बम ‘धरती धुन’, ‘भूगोल र भावना’ , ‘माटो र मुटु ’, ‘मेरो देश मेरै गीत’, ‘स्पन्दन’, ‘स्मृतिशेष’, र ‘स्वदेश र सपना’ प्रकाशित छन । यस बाहेक संयुक्त एल्बमहरु ‘सपना’, ‘वाचा कसम’, ‘आगत’, ‘फूलको खबर’, ‘सम्झनाको तरेली’ जस्ता एल्बममा उहाँका गीतहरु समावेश छन् । उहाँका गीतमा प्रेम ध्वज प्रधान, रुबी जोशी, योगेश बैध, सि. पी लोहनी, प्रकाश श्रेष्ठ, दिपक खरेल, स्वरूपराज आचार्य, यम बराल, मिलन अमात्य, अन्जु पन्त, सपना श्री, आनन्द कार्की, उदय सोताङ, कर्ण दास, जगदिश समाल, शिशिर योगी तथा सुमित खड्का आदि वरिष्ठ देखि नयाँ पुस्ताका गायक गायिकाले स्वरवद्ध गरेका छन् । ‘मनका हरफ’ नामक ९७ गीत समेटिएको पुस्तक २०६९ सालामा प्रकाशित भै सकेका छन् । उहाँका कृति र व्यक्तित्व बारे त्रि. वि. वि. स्नातकोत्तर तहका छात्रा टीकामाया खरेलबाट अध्यन भै शोध–पत्र समेत तयार भएको छ ।
पारिवारिक जीवन ः चूडामणि देवकोटाको बिबाह बझाङकी सुष्मा रानी संग २०३६ सालमा भयो । त्रि. वि. वि बाट स्नातकोत्तर उहाँ राष्ट्रिय बाणिज्य बैंकमा सेवारत हुनुहुन्छ । उहाँको २ कुल दीप मध्ये जेठा प्रतीक अष्ट्रेलियाको सिडनीमा विगात १३ वर्ष देखि सपरिवार हुनुहुन्छ भने कान्छो छोरो स्प्रीश्प अमेरिकाको सान फ्रान्सिस्को , क्यालिफोर्नियामा हुनुहुन्छ ।
विबिध ः गीतकार सङ्घ नेपाल , नेपाल रेड क्रस सोसाइटी, हर्ट फाउन्डेसं , वाणी प्रकाशन जस्ता थुप्रै सङ्घ संस्थामा आजीवन तथा साधारण सदस्यता लिनु भएको उहाँले बेलायत, फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नेदरल्याण्ड, डेनमार्क, अष्ट्रिया, पोल्याण्ड, हंगेरी, बेल्जियम, इटली, लिथुनिया आदि युरोपियन देश तथा दक्षिणपूर्ण एसियाका थुप्रै देशहरुको भ्रमण गर्नु भएको छ । काठमाडौंको ज्ञानेश्वर स्थायी बसोबास गर्दै आउनु भएका देवकोटा २०७३ पौष ३० को साधारण सभाबाट गीतकार सङ्घ नेपालको अध्यक्षमा २ बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुनु भएको थियो भने दोस्रो कार्यकालका लागि २०७५ पौष ३० मा पुन निर्विरोध निर्वाचित हुनु भएको छ ।