पिता विष्णु प्रसाद घले र माता मनसरा देवि घलेको चौथो सन्तानको रुपमा गोरखा जिल्लाको वारपाक शुलिकोट गा.पा. २ पुख्र्यौली घर भएता पनि चितवन भरतपुर म.न.पा. १६ रामपुरमा जन्मनु भएका गीतकार जे.वी समयोगी घले जित बहादुर घले) ले बाल्यकाल देखि नै गीत संगीत र नृत्यमा आफ्नो रुचि देखाउँदै आउनु भएता पनि गीति लेखनको क्षेत्रमा भने २०४३ साल देखि प्रवेश गर्नु भयो । सरकारी जागिरमा प्रवेश गर्नु पूर्व सांस्कृतिक संस्थापनमा (राष्ट्रिय नाचघर) केहि महिना नृत्यकारको रुपमा रहेको घलेले सर्वप्रथम २०५० सालमा संगीतकार तोरण तोशाकको संगीत र गायक कृष्णमान डंगोलको स्वरमा “नसम्झेमा कस्तो कस्तो, माया मारे जस्तो” बोलको गीत रेकर्ड गराउनु भयो र २०५६ सालमा आफ्नै रचना, स्वर र संगीतमा “हे कान्छी, हे कान्छी नानी हो” गीत लगायत आठवटा अन्य गीतकार र संगीतकारहरुको गीतमा स्वर दिएको “अफर (हे कान्छी)” एल्वम निकाल्नु भएको थियो । यसैगरी २०६२ सालमा संगीतकार नरेन्द्र प्यासीको एकल संगीतमा जे.वी. घलेले संयुक्त एल्वम “मुटु छोएर” निकाले जसमा “कुन गाउँ कि ए सुन्दरी”, “सधैँ म एक्लो भएर बसें” र “मैले त ठानिन तिमीले माया मारेको” गीत थिए ।
तेश्रो एल्वमको रुपमा २०६३ सालमा भारतिय गजल गायक श्री जगजित सिंहको एकल स्वर र आलोक श्री को संगीतमा जे.वि समयोगीको “संयोग” एल्वम आएको छ, जसमा “कुन माया सदर भो मेरो माया बदर भो”, “दिल चोरेर बदनाम भाको”, “झुल्केको घाम सरी छु” लगायतको गीतहरु चर्चित छन् ।
हाल चौथो एल्वमको रुपमा “संयोग–२” ल्याउने तयारीमा रहेका गीतकार जे.वि. समयोगीका गीतहरुमा बरिष्ठ गायक उदित नारायण, दिपक लिम्बु, जगदिश समालका स्वर समावेस छन् । धेरै चर्चित गीतका गीतकार जे.वि. समयोगी हाल गीतकार संघको नेपालको सदस्यका रुपमा कार्यरत हुनुहुन्छ भने हालै मात्र राष्ट्रिय अनुसन्धान विभागको प्रमुख अनुसन्धान अधिकृत (डि.एस.पि.) पद बाट सेवा निवृत (रिटायर्ड) भई गीति क्षेत्र लगायत अन्य सामाजिक संघ, संस्थामा सल्लाहकारको भूमिकामा रहनु भएको जे.वि. समयोगी एक छोरी सम्पदा, एक छोरा विवेक र श्रीमती बिना घलेको साथ हुनुहुन्छ ।