वि.सं. २०२८ साउन १३ गते भोजपुर जिल्लाको दिल्पा, अन्नपूर्णमा जन्मिएका शुभ मुकारुङ (शुभचन्द्र राई) का गीतहरु २०४७÷४८ देखि रेडियो नेपालबाट प्रसारणमा आएका हुन् । गीत रचनामा निरन्तर कलम चलाई रहेका मुकारुङका शायद–२०५२, संवेग–२०५९ र स्वीकृति २०६३ क्यासेट र सिडीहरु प्रकाशन भएका छन् भने ‘पुग्नु कहाँ थियो’ २०६१ गीत संग्रह प्रकाशित छन् । बाल गीत, राष्ट्रिय गीत र केही चलचित्रका गीत गरी उहाँद्वारा रचित गीतहरु ६ दर्जन माथि रेकर्डिङ भएका छन् । उहाँले नेपाली आधुनिक सङ्गीतका अग्रज पुस्तादेखि वर्तमान पिढिका सङ्गीतकार, गायक, गायिकाहरुसँग काम गरिसक्नु भएको छ ।
झन्डै दशक समय छापा पत्रकारितामा सक्रिय रहेका मुकारुङले रेडियो र टेलिभिजन कार्यक्रम निर्माणको समेत अनुभव संगाल्नु भएको छ । गीतको अलावा कथा र नियात्रामा समेत कलम चलाउने मुकारुङ लोक साहित्य, संस्कृति र पुरातत्व विषय माथि चासो राख्नुहुन्छ । उहाँद्वारा संकलित, सम्पादित ती विषयका विभिन्न पुस्तकहरु समेत प्रकाशित भएका छन् ।
गीतिकारिताको अलावा संस्कृतिमा निरन्तर काम गरिरहेका मुकारुङ देश विदेशका विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित हुनुहुन्छ । उहाँका कृति र व्यक्तित्व बारे त्रि. वि. वि. स्नातकोत्तर तहका छात्र रमेस मादेनबाट अध्यन भै शोध–पत्र समेत तयार भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने लोक संस्कृति र बाल साहित्य सम्बन्धि बहुभाषिक त्रैमासिक पत्रिका ‘सयपत्री’ को सम्पादन मण्डलमा समेत रहेर काम गरिसम्नु भएका मुकारुङ गाीतकार संघ नेपालको सदस्य, कोषाध्यक्ष, महासचिव (२ कार्यकाल) हुदै हनल उपाध्यक्ष हुनुहुन्छ ।