नेपाली साहित्य क्षेत्रकी उदाउँदो नक्षत्र गीतकार सुशीला पौडेल हाल गीतकार सङ्घ नेपालमा कोषाध्यक्ष हुनुहुन्छ । उहाँको जन्म सर्लाहीको लालबन्दीमा पिता फणिन्द्र प्रसाद पौडेल र माता राधा पौडेलको कोखबाट वि.सं. २०३८ साल बैशाख १७ गते भएको हो । नेपाली साहित्यमा स्नाकोत्तर गर्नुभएकी गीतकार शिक्षण पेसामा आवद्ध हुनुहुन्छ । उहाँ सानै उमेरदेखि लेखनप्रति झुकाव राख्नुहुन्थ्यो । उहाँले २०४८ सालदेखि गीत तथा फुटकर कविता लेख्न थाल्नु भएको हो । स्थानीय पत्रिका गोलसिमलमा उहाको पहिलो रचना २०५१ सालमा प्रकाशित भएको थियो । पछिल्लो समयमा उहाँ गजल, मुक्तक र आख्यान लेखनमा पनि सक्रिय हुनुहुन्छ ।
नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टाको हाल सम्म करिब तीन दर्जन गीतहरु रेकर्ड भै सकेका छन् । उहाँको एकल गीतिसंग्रह ‘संसार’ (२०७१) बजारमा आई सकेको छ । त्यसैगरी गीतकार दिनेश सुवेदीसँगको संयुक्त लेखनमा गीति एल्बम ‘उमङ्ग’ पनि बजारमा आईसकेको छ । लेखनसँगै सँगै विभिन्न साहित्यको श्रीवृद्धिमा क्रियाशील सुशीला हाम्रो मझेरी साहित्य प्रतिष्ठान, विशिष्ट आजिवन सदस्य, प्यास राष्ट्रिय गजल पत्रिका आजीवन सदस्य, सर्लाही साहित्य समाज सल्लाहकार, विश्वनारी साहित्य सम्मेलन सर्लाही जिल्ला अध्यक्ष, लगायत अन्य साहित्यिक गतिविधिमा पनि संलग्न हुनुहुन्छ ।
शिक्षण पेसामा आबद्ध हुनुभएकी स्रष्टाका यी प्रतिनिधि गजल, हैसियत गजल संग्रह जस्ता संयुक्त कृतिमा करिब तीन दर्जन गजल प्रकाशित भएका छन् । त्यसैगरी ‘मुक्तक चौतारीमा’ मुक्तकहरु समेटिएका छन् । उहाँ त्रिमूर्ति साहित्य सेवा पदक २०७१ र कपन जेसीस सम्मान २०७४बाट सम्मानित हुनुहुन्छ । यसका साथ साथै विभिन्न साहित्यिक पत्रपत्रिकामा उहाँले साहित्यिक लेखहरु प्नि लेख्दै आउनु भएको छ । २०६६ सालमा गायिका अञ्जु पन्तले गाएको ‘तिमी त माया गर्ने मान्छे’ बोलको गीत उहाँको पहिलो चर्चित गीत हो । नेपाली चलचित्र ‘विजयपथ’ र ‘अक्सरमा’ पनि उहाँले गीत लेख्नु भएको छ । पौडेल सदस्य, कोषाध्यक्ष हुदै हाल सचिव हुनुहुन्छ ।