नेपाली गीत सिर्जनाको क्षेत्रमा समर्पित भई निरन्तर गीति लेखनमा लागिपरेका स्रष्टाहरुलाई राष्ट्रव्यापी रुपमा एउटै संस्थामा आवद्ध गराई गीत सिर्जनाको माध्यमबाट राष्ट्रियता एवं समग्र नेपाली संस्कृतिको जर्गेना गर्दै नेपाल र नेपालीको शान र गरिमालाई सदैव उँचो राख्दै देश विदेशका नेपाली सिर्जनशील स्रष्टाहरुको हक हितको संरक्षण, संम्र्वद्धन साथै श्रीबृद्धिमा समेत सघाउ पु¥याउने उद्देश्यले अभिप्रेरित भई संस्था दर्ता ऐन २०३४ अनुसार “ गीतकार सङ्घ नेपाल” नामक संस्था २०६७ जेष्ठ १४ गते स्थापना भएको हो । संस्था स्थापना भएको दुई वर्ष पछि २०६९ सालबाट “अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन ” भन्ने नाराका साथ राष्ट्रिय स्रष्टा सम्मान र वर्ष गीत पुरस्कारको स्थापना गरी  संस्थाको स्थापना दिवसको अवसर पारी अग्रज गीतकारलाई सम्मान र वर्ष भरि प्रसारणमा आएका सदस्य गीतकारहरुको गीतहरु मध्ये एकजनालाई पुरस्कार दिदै आइरहेकोमा २०७१ सालबाट वर्ष गीत पुस्तक पुरस्कार , २०७४ सालबाट डायस्पोरा गीतकार सम्मान, २०७७ सालबाट मातृभाषा गीतकार स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्दै गीतकार स्रष्टाहरुको सम्मान र प्रोत्साहन कार्यमा संस्था निरन्तर अघि बढिरहेको छ । संस्था स्थापना भएको केही वर्ष देखिनै आफ्ना सदस्य, स्रष्टा गीतकारहरुलाई आफ्नो आर्थिक र नैतिक अधिकार प्रति सचेतना जगाउने जस्ता अन्तरक्रिया, छलफल, गीत शिवीर जस्ता कार्यक्रमहरु सम्पादन गर्दै आइरहेको छ । राजधानीको अलावा इलाम, मोरङ, सुनसरी जनकपुर, चितवन र दाङ,सोलुखुम्बु र धनकुटा जस्ता ठाउँहरुमा कार्यक्रमहरुको आयोजना गरिसकिएको छ भने गीतकारहरुको अभिलेखिकरण गर्ने कार्य पनि भईरहेको छ । यसै गरी गीतकार सङ्घ नेपालमा कल्याणकारी कोष अन्तरगत गीतकार उपचारकोषका साथै अमर भावना राष्ट्रिय स्रष्टा सम्मान र बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान अक्षयकोष एवं भैरवनाथ रिमाल ‘कदम’ स्मृति गीतकार सङ्घ नेपाल र जगतमर्दन थापा स्मृति गीतकार सङ्घ नेपाल जस्ता स्मृति अक्षयकोषहरुको समेत स्थापना भईसकेको छ ।